NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा तृतीया - १८

परिचय

परिचय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना अन्तर्गत रहेको राष्ट्रिय किताबखाना (प्रहरी) नेपाल प्रहरी,  सशस्त्र प्रहरी बल नेपाल,  राष्ट्रिय अनुसन्धान विभाग तथा राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी कर्मचारीहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय हो। यसले प्रहरी कर्मचारीहरुको व्यक्तिगत अभिलेख व्यवस्थापन गर्नुका साथै सेवाबाट अलग भएका कर्मचारीहरुलाई उपदान, निवृत्तिभरण, पारिवारिक उपदान वा निवृत्तिभरण, असाधारण पारिवारिक उपदान वा निवृत्तिभरण, सन्तति वृत्ति  र शैक्षिक वृत्ति जस्ता सुविधाहरु एकीन गर्ने कार्य समेत गर्दछ ।

नेपालमा निजामती, जंगी, प्रहरी र मिलिसिया कर्मचारीहरुको लगत व्यवस्थित रुपमा राख्ने प्रयोजनका लागि वि.सं. १९०५ मा "मुलुकी किताबखाना" को स्थापना भएको पाइन्छ ।वि.सं. १९३३ मा "मुलुकी किताबखाना" लाई "कमाण्डरी किताबखाना" मा परिणत गरिएको पाइन्छ ।वि.सं. २०३५ सम्म साविकको "निजामती किताबखाना" बाट नै प्रहरी कर्मचारीहरुको समेत अभिलेख राख्दै आएकोमा वि.सं. २०३५ मा प्रहरी कर्मचारीहरुको व्यक्तिगत अभिलेख राख्ने, सेवाबाट अलग भएका प्रहरी कर्मचारीहरुलाई निवृत्तिभरण, उपदान लगायतका सुविधा किटान गर्ने प्रयोजनका लागि छुट्टै किताबखानाको रुपमा प्रहरी किताबखानाको स्थापना भएको देखिन्छ ।

राज्यको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन वि.स.२००८ मा सेन्ट्रल इन्टेलिजेन्सको रुपमा स्थापना भएको देखिन्छ । वि.स. २०४२ मा नेपाल विशेष सेवा ऐन तर्जुमा भई जनसम्पर्क प्रधान कार्यालयको नाममा रहेकोमा मिति २०४४ सालमा नेपाल विशेष सेवा नियमावली तर्जुमा भएको र वि.स. २०४७ मा नेपाल विशेष सेवा ऐनको पहिलो संशोधनले राष्ट्रिय अनुसन्धान विभागमा रुपान्तरित गरेसँगै राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको अभिलेख राख्ने र निवृत्तिभरण, उपदान लगायतका सुविधा एकीन गर्ने कार्य समेत राष्ट्रिय किताबखाना (प्रहरी)बाट हुँदै आएको छ।

यसैगरी साविकमा भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार गठित विशेष प्रहरी विभागमा नेपाल प्रहरीतर्फ कै कर्मचारी रहने गरेकोमा भ्रष्टाचार निवारण ऐन,२०५९ अनुसार विशेष प्रहरी विभाग खारेज भई राष्ट्रिय सतर्कता केन्द्र स्थापना भएपश्चात विशेष प्रहरी विभागबाट समायोजन भै आएका प्रहरी कर्मचारीहरुको अभिलेख व्यवस्थापन तथा निवृत्तिभरण, उपदान लगायतका सुविधा एकीन समेतको कार्य पनि यसै किताबखानाबाट हुँदै आएको छ।यसैगरी वि.स. २०५८ मा सशस्त्र प्रहरी बल  नेपालको स्थापना भएसँगै सशस्त्र प्रहरी बल  नेपाल मातहतका सम्पूर्ण कर्मचारीको अभिलेख राख्ने तथा निवृत्तिभरण,  उपदान लगायतका सुविधा एकीन गर्ने लगायतका कार्य पनि यस किताबखानाबाटै हुँदै आएको छ।यससँगै यस किताबखानाले हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्र मातहत रहेका सम्पूर्ण कार्यरत स्थायी र अवकाश प्राप्त प्रहरी कर्मचारीको अभिलेख व्यवस्थित र अद्यावद्यिक गरी निजहरूलाई सम्बन्धित ऐन नियमानुसार दिइने निवृत्तिभरण तथा उपदान लगायतका सेवा, सुविधा प्रदान गर्दै आएको छ।साथै यस किताबखानाले राष्ट्रिय अनुसन्धान विभागतर्फका अवकाश प्राप्त कर्मचारीहरुलाई अवकाश पश्चात परिचय पत्र समेत जारी गर्दै आएको छ। 

वि.सं. २०३५ सालमा गृह मन्त्रालय मातहतमा रहने गरी प्रहरी किताबखानाको स्थापना भएको देखि नै यो किताबखाना गृह मन्त्रालय अन्तर्गतको शाखाको रुपमा रहेको थियो । वि.सं.२०६६ मा नेपाल सरकार, मन्त्रीस्तरको निर्णयबाट यो किताबखाना विभागस्तरीय कार्यालयको रुपमा परिणत भएको देखिन्छ ।वि.सं २०७२ सालमा नेपालको संविधान कार्यान्वयनमा आएसँगै राज्य पुनसंरचना तथा समान प्रकृतिका कार्यालयहरुलाई एक आपसमा गाभ्ने कार्य प्रारम्भ भएको तथा संघ, प्रदेश र स्थानीय तहहरू रहने गरी राज्यको राजनैतिक तथा प्रशासनिक पुनसंरचना भएको देखिन्छ।

यसै सन्दर्भमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५/०२/०६ को निर्णयानुसार समान प्रकृतिका कार्य गर्ने तत्कालिन निजामती किताबखाना, प्रहरी किताबखाना र शिक्षक किताबखानालाई एकिकृत गरी राष्ट्रिय किताबखाना स्थापना भएको देखिन्छ ।यसरी एकिकृत गरिएका तीनवटै किताबखानाका सम्पूर्ण अभिलेखहरू व्यवस्थित गरी सेवा प्रवाह गर्न एकिकृत भवन बनि नसकेको कारणले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (मन्त्रीस्तर) को मिति २०७६।०३।१९ को निर्णयानुसार प्रस्तावित स्थानमा रुपान्तरण हुने समयसम्म वा अर्को वैकल्पिक व्यवस्था नभएसम्मका लागि तत् तत् स्थानबाटै राष्ट्रिय किताबखानाको नामबाट कार्य सञ्चालन गर्ने निर्णय भए बमोजिम साविकको प्रहरी किताबखाना हाल राष्ट्रिय किताबखाना(प्रहरी) को नामबाट लैनचौर, काठमाण्डौमा अवस्थित आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको अवस्था छ ।

करीब ४७ वर्ष लामो ईतिहास बोकेको यस राष्ट्रिय किताबखाना (प्रहरी)ले वर्तमान समयमा साविकको प्रहरी किताबखानाको जिम्मेवारी बमोजिम चारवटै सुरक्षा निकायहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी तर्फका बहालवाला र सेवाबाट अलग भएका प्रहरी कर्मचारीहरुको व्यक्तिगत अभिलेख व्यवस्थापन गर्ने र प्रहरी कर्मचारीहरूलाई सम्बन्धित ऐन, नियम अनुसार प्रदान गरिने निवृत्तिभरण, उपदान, पारिवारिक निवृत्तिभरण, असाधारण पारिवारिक निवृत्तिभरण, अशक्त वृत्ति, शैक्षिक र सन्तति वृत्ति समेतका सुविधाहरू प्रदान गर्नुका साथै प्रहरी कर्मचारीहरुको तलब स्केल मिलान गर्ने, तलबी प्रतिवेदन पारित गर्ने, प्रहरी कर्मचारीहरूको आवश्यक विवरण र तथ्याङ्क उपलब्ध गराउने र सम्पत्ति विवरण संकलन, अभिलेखीकरण, भण्डारण तथा व्यवस्थापन गर्ने कार्य समेत गर्दै आएको देखिन्छ।

पछिल्लो समय राष्ट्रिय किताबखाना(प्रहरी)बाट सम्पादन हुने दैनिक सेवा प्रवाहको कार्यलाई छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी ढङ्गबाट प्रदान गर्न र सेवाग्राहीहरूलाई सहज तथा सरल रुपमा सेवा प्रवाह गर्नका लागि PPIS (Police Personnel Information System)सफ्टवेयरमार्फत निवृत्तिभरण अधिकार पत्रसम्बन्धी निर्णयको टिप्पणी लेखन, निवृत्तिभरण वा उपदान रकम गणना तथा तलबी प्रतिवेदन पारित समेतको कार्य गरिँदै आएको छ ।